सिन्धुपाल्चोकका ११ स्थानीय तहका २१९ जना बेपत्ता, ५ जनाको मृत्यु भएको घोषणा
सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जिल्लाका ११ वटै स्थानीय तहबाट गरी कुल २१९ जना नागरिक बेपत्ता भएको अत्यासलाग्दो विवरण सार्वजनिक भएको छ। यसका साथै बाढीमा परेर ज्यान गुमाएका ५ जनालाई भने यसअघि नै आधिकारिक रूपमा मृतक घोषणा गरिसकिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा आयोजित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहबाट संकलन गरिएको बेपत्ता नागरिकहरूको एकीकृत र एकिन विवरण प्रस्तुत गरिएको हो।
कुन स्थानीय तहमा कति बेपत्ता र मृतक?
प्रस्तुत विवरणअनुसार सीमावर्ती क्षेत्र भोटेकोशी गाउँपालिकामा बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको छ भने इन्द्रावती गाउँपालिकामा सबैभन्दा कम असर परेको छ। स्थानीय तहगत विवरण यस प्रकार छ:
-
भोटेकोशी गाउँपालिका: ६८ जना बेपत्ता (२ जनाको मृत्यु घोषणा)
-
बाह्रबिसे नगरपालिका: ५७ जना बेपत्ता (२ जनाको मृत्यु घोषणा)
-
बलेफी गाउँपालिका: ३० जना बेपत्ता (१ जनाको मृत्यु घोषणा)
-
सुनकोशी गाउँपालिका: १५ जना बेपत्ता
-
चौतारा साँगाचोकगढी नगरपालिका: १२ जना बेपत्ता
-
जुगल गाउँपालिका: १२ जना बेपत्ता
-
मेलम्ची नगरपालिका: ८ जना बेपत्ता
-
हेलम्बु गाउँपालिका: ७ जना बेपत्ता
-
त्रिपुरासुन्दरी गाउँपालिका: ६ जना बेपत्ता
-
लिसङ्खुपाखर गाउँपालिका: ३ जना बेपत्ता
-
इन्द्रावती गाउँपालिका: १ जना बेपत्ता
कानुनी प्रक्रिया र राहत सहयोग
निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार स्थानीय तहहरूबाट प्राप्त बेपत्ता नागरिकहरूको विवरण जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गरी मन्त्रिपरिषद् बैठकमा पठाइनेछ। मन्त्रिपरिषद्ले उनीहरूलाई आधिकारिक रूपमा मृतक घोषणा गरेपछि पीडित परिवारलाई राहत रकम वितरणको प्रक्रिया अघि बढ्नेछ।
सरकारको नियमानुसार मृतक घोषणा भएपछि प्रतिमृतक परिवारले रु. २ लाखका दरले राहत रकम प्राप्त गर्नेछन्। तर एकाघरका एकभन्दा बढी सदस्यको मृत्यु भएको अवस्थामा भने पहिलो व्यक्तिको लागि रु. २ लाख र त्यसपछि थपिने प्रतिव्यक्ति रु. १ लाखका दरले राहत रकम उपलब्ध गराइने निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले स्पष्ट पार्नुभयो।
विपद् व्यवस्थापन र उद्धारमा तीव्रता
बैठकमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र विपद् जोखिम न्यूनीकरणका भावी कदमबारे विस्तृत छलफल भएको छ।
उक्त महत्त्वपूर्ण बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख एवम् उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, विषयगत कार्यालय प्रमुखहरू, पालिकाका विपद् फोकल पर्सन, सुरक्षा निकायका प्रमुखहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सरोकारवालाहरूले बाढी प्रभावित क्षेत्रमा अविलम्ब राहत पुर्याउन र बेपत्ताहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका छन्।
डिजिटल विद्यालय निर्माण अभियानमा थाङपाल भ्याली माविलाई १८–१९ लाख सहयोग हुने
पाँचपोखरी थाङपाल गाउँपालिका– ४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको डिजिटल विद्यालय निर्माण अभियानमा उत्साहजनक सहयोग जुट्ने
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा दीपावली, छठ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा शुभ दीपावली, छठ पर्व र नेपाल संवत ११४७ लगायतका महान
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीको शुभकामना आदानप्रदान, देउसीभैलो तथा चियापान कार्यक्रम सम्पन्न
नेपालीहरूको महान् चाड तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले




प्रतिकृया दिनुहोस